मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गरौँ : सांसद खतिवडा

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गरौँ : सांसद खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्ने बताएका हुन् ।

उनले देशमा समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत नआउने र सरकार समेत अस्थिर हुने गरेको बताए । उनले २४० वटा निर्वाचन क्षेत्र मात्रै राखेर प्रत्यक्ष निर्वाचित सांसद मात्रै बनाउनुपर्ने बताए । बरु सोही निर्वाचन क्षेत्रभित्र महिला र दलित लगायतको लागि कोटा छट्याउन सकिने बताए । उनले प्रदेशमा पनि समानुपातिक राख्नु नहुने र राष्ट्रिय सभा भने समानुपातिक बनाउनुपर्ने बताए।

उनले भने – ‘संविधानमा समानुपातिक पद्धती राखेका छौँ । यो आवश्यक पनि हो । जुन जात, वर्ग, धर्म, सम्प्रदाय छुट्यो त्यसलाई ल्याउनुपनि पर्छ । तर प्रतिनिधि सभामा जुन बेलासम्म समानुपातिक पद्धति राख्छौँ । तबसम्म कुनै दलको बहुमत आउने लक्षण देखिएन । हाम्रो प्रस्ताव व्यक्तिगत रुपमा के छ भने अहिले ठुला पार्टीहरु सहमत हौँ ।

संविधान संशोधन गरौँ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गरौँ । कतिपय ठाउँहरुमा दलितको, महिलाको फाल्टै सिट छ भने त्यो पनि गरौँ । २४० वटै निर्वाचन क्षेत्र गरौँ । प्रदेशमा समानुपातिक नराखौँ । संघमा राष्ट्रिय सभामा समानुपातिक राखौँ । यसमा सबै पार्टीहरु जानसक्यौँ भने, स्थिर सरकार नभएर काम गर्ने वातावरण भएन । सधैँ सत्ताको लागि मात्रै लुछाचुँडी गर्नुपर्यो । यो अन्त्य हुन्छ ।

प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा भइसकेपछि जुनसुकै दलको होस् । पाँच वर्ष कमसेकम एउटा दलको बहुमत ल्याएर सरकार गठन गर्नसक्ने अवस्था हुन्छ नि । यहाँ त टालाटुली बटुली आउनुपर्ने ।

ठुला पार्टीहरु बाहिर बसेर च्याखे पार्टीहरुलाई लिएर ठाउँ दिनुपर्ने अनि च्याखेले निउ खोजेको खोजेकै गर्ने यो प्रवृत्तिको अन्त्य जरुरी देखियो । राजनीतिक स्थिरताका लागि, समृद्धिका लागि र मुलुकमा विकासका लागि पनि यो आवश्यकता छ ।उनले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुँदा कुनै एक राजनीतिक दलको बहुमत आउन सक्ने र स्थिर सरकार बनाउन सकिने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend