शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

क्वारेन्टाइन , लक डाउन र जिजिविषा

क्वारेन्टाइन , लक डाउन र जिजिविषा

मीना श्रेष्ठ – यु ए इ को दुबईमा मार्च छ तारीखमा हुने एक साहित्यिक कार्यक्रममा केही थान कविता बोकेर म चार तारीख नेपाल वायु सेवा निगमको जहाजमा दुबई एयरपोर्ट हुँदै दुबईको अलकुज भन्ने ठाउँमा पुगे । कोरोनाको त्रास फैलिदै गएको कारण छ तारीख हुने या नहुने भन्दाभन्दै कार्यक्रम सोचे भन्दा राम्रो भयो । कार्यक्रम सकेपछी केही दिन बसेर भए पनि एक जना मोरङकि बहिनि लाई नभेटी नहुने अत्यावश्यक काम थियो र म उनलाई भेट्न शुक्रबार कुर्न पर्थ्यो । मेरो बसाई लम्बिएको थियो ,बसाइँ ओशो आस्रममा भएको कारण नियमित ध्यान साधना लेखन र आराम भएको थियो । एउटा पुस्तक लेख्न सुरु गरेको त्यहाँ खुबै सजिलो भएको थियो । नेपालको मोबाइल मात्रै अफ हुँदा पनि निकै धेरै फुर्सदिलो हुइने रहेछ । न कुनै कार्यक्रमको जानकारी लिइने , न कहिँ जान इच्छा हुने । म लेखेर बस्न फुर्सदिलो हुँदै समयको सदुपयोग गरे । सबैको ब्यस्त जीवन रहेको शहरमा साझ तिर अरुको फुर्सद समयमा समुन्द्र किनार जान रुचाउने मान्छे ,पुग्ने गरे । संसारका ठुला रास्ट्रहरु काबु हुँदै गरेको बेला यु ए इ मा पनि कोरोना आतंक बिस्तारै बढ्दै जादै थियो । मकहाँ अबुधाबिमा सार्वजनिक स्थानहरु बन्द भएको जानकारी आउदै थियो । धेरै मानिसको जमघट हुने स्थानमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । कुनै पनि समयमा लक डाउन गर्न सक्ने चर्चा हुँदै थियो ,त्यतिन्जेल कोरोना संक्रमित नेपाली दुई जना रहेको त्यहाँको सरकारले जानकारी दिएको थियो । अब नेपालमा हवाई मार्गहरु बन्द हुने समाचार मलाई अल एनका एक जना साथीले जानकारी दिना साथ म नेपाल जान हतारीएँ ।
मेरो फर्कने टिकट शुक्रबार ती बहिनीलाई सम्पर्क गरेर आइतबार रातिको गरेको थिए । तर अन्तिम फ्लाईट नै बिहिवार हुने भए छि जुनसुकै हालतमा पनि मेरो टिकट सार्न पर्ने भयो । मैले ट्राभल बाट नसक्ने जानकारी प्राप्त गरे पछी महामहिम राजदूत कृष्ण ढकाल र नेपाल एरलाइन्सको कन्ट्री मेनेजर टीका जि लाई सम्पर्क गरे । म बिहिवारको अन्तिम फ्लाईटबाट नेपाल आएँ ,नेपालको एयरपोर्टमा सामान्य स्वास्थ्य परीक्षण पछी बिदेशबाट आउनेहरुले न्युनतम पनि १४ दिन सम्म सेल्फ क्वारेन्टाइनमा रहन पर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेँ।

घर आइपुग्ने बित्तिकै यात्रामा लगाएका सबै कपडाहरु बाथरुममा राखे ,फ्रेस भएछि छोरीलाई आज देखि आफू १४ दिन सम्म क्वारेन्टाइनमा रहने ,किनकि म यु ए इ मा अल एनबाट दुबई फर्किदा सार्वजनिक साधन ट्रेन चढेको थिए ,यहाँ आउँदाको जहाजमा धेरै जना यात्रु थियौँ ,आफुले जोखिमपुर्ण यात्रा गरेको सम्झिएँ। म संग कोरोना रहेछ ,म संक्रमित रहेछु भने म सुरक्षित हुँदा सबैलाई सुरक्षा हुनेछ ,मलाई केही लक्षण देखिएमा म अस्पताल जानेछु भन्दै नेपाल सरकारले कोरोना बिरुद्ध चालेको अभियानमा साथ हुनेछ भने र म मेरो कोठामै मात्र सिमित रहेर १४ दिन ब्यतित गरेँ।

आफुले आफुलाइ अनुशासित राख्न बिना हतियारको युद्ध महामारीलाई जित्नुको निम्ति यो एकान्त वास अर्थात क्वारेन्टाइन बसाइ यति प्रीय रहयो जिवनको उत्तरार्ध सम्म यादगार रहनेछ । सधै काम सधै कार्यक्रम भेटघाटमा ब्यस्त मात्र होइन अस्तब्यस्त रहने जीवन शैलीको शरीरले आराम गर्न पाएको थियो । छोरी संग छेउमा नबसे पनि दिनरात कुरा गर्न स्नेह गर्न पाएको छु । घाममा बाहिर निस्कन नपर्ने भएकोले रसायनयुक्त घाम बाट जोगाउने क्रीम लगाउन परेको छैन । धुवाँधुलो बाट टाढा रहिएको छ । थुप्रै समय देखि घर मिलाउन पाएको थिइन ,राम्रोसँग मिलाएर घर घर जस्तो बनाउने समय प्राप्त गरेको छु । लेख्दै गरेको पुस्तकको धेरै वटा शिर्षक पुरा गरेको छु । मैले ब्यस्त रहदा नियमित रूपमा एउटा मात्रै ध्यान गर्ने गरेको थिए तर अहिले चार वटा ध्यान गर्छु । न्युनतम पनि दुइटा अनिवार्य गरेको छु ।

सामाजिक संजाल मा देख्छु ,दिन बिताउन गाह्रो भएको छट्पटी ,औडाह ,अब के गर्नु? कसो गर्नु जस्तो मनको दौडहरु । म भने आम मानिस भन्दा फरक रहेछु भन्ने लागेको छ । सायद म ओशो सन्यासी भएको कारण पनि हुन सक्छ । जीवन र जगतलाई धेरै मात्रामा बुझ्न् सक्छु । आफ्नो जिवनको साक्षी आफू बन्न सक्छु र एकान्त लाई सुवर्ण अवसर मानेर पल पलको आनन्द लिन सक्छु । बिहान तपोबनको प्रत्यक्ष प्रसारण संग जोडिदै उहिँको समय अनुसार बुद्धम शरणम गर्छु ,ओशो भजन सुन्छु, प्रवचन सुन्छु । यहीँ घर मेरो सुत्ने कोठालाइ नै भजनमयी ध्यानमयी बनाएको छु ,यहीँबाट भेट्छु मेरो गुरु स्वामी आनन्द अरुण लाई ,यहीँ घर लाई म पुग्ने गरेको तपोबन ,उपबन र जेतवन बनाएको छु । यहीँ लेख्छु, यहीँ पढ्छु यहीँ आनन्दीत हुन्छु ।
कमसेकम अस्तब्यस्त जीवनबाट पर हटेर आफु संग रहन पाएको छु । आफ्नोलाई माया गर्न पाएको छु ,आफुलाइ सुम्सुम्याउन आफ्नो हेरबिचार गर्न पाएको छु । जिवनको यो उमेर सम्म आइपुग्दा घाममा बसेर घामको तापको आनन्द लिन पाएको थिइन अहिले केही बेर घाममा बस्छु ।
दुबईमा छ्दाँ मेरो मोबाइल बिग्रेपछि उतै बनाउन दिएको थिएँ नेपालको सिमसहित ।मोबाइल नम्बर नभएपछी कसैसँग संपर्क हुने कुरा आएन। इटहरीमा रहनु भएको ममि ड्याडीलाई समेत छोरीको मोबाइल मार्फत के छ खबर ,कहिँ ननिस्कनु है भन्दै सम्पर्क गर्ने गर्थें । क्वारेन्टाइनको मेरो बसाइ सकिए पनि लक डाउन जारी छ ।
कोरोना महामारीले संसार लाई आतंकित बनाइरहेको बेला हामी पनि अछुतो रहेनौ र यो लक डाउन भोगिरहेका छौँ । यो समयलाई जतिसक्दो सदुपयोग गर्न पर्छ । मैले आफुले राजनीति सांगठनिक जिवनको तीस बर्से भोगाइ लेखिरहदा ,घरीघरी पुस्तक पढ्न पनि मन लाग्छ । एकपटक पढिसकेको पुस्तकहरु पुनः पढ्दै छु । अहिले दिदी उषा शेरचनको ” आधी ” उपन्यास पढेँ । उपन्यासको पात्रहरु छेउमा आइरहन्छन् ,आधी को प्रमुख नायीका चादनीको माया लाग्छ ,उसको घरबेटी आमा, कान्छी ,सार्थकको घट्दो आयतनको प्रेम अनि भगवान जस्तै साथ दिने डाक्टर सबै पात्रहरु छिमेकी जस्तै लाग्छन् ।
डाक्टर रबिन्द्र समीरको पुस्तक “मिर्त्युको आयु ” यतिबेला ठ्याक्कै मिल्दो छ । आयुको प्रेम कति हुन्छ देखिरहेको छु । जिवनको दियोमा आयुको सलेदो कुन बेला सिदिन्छ ?थाहा नहुने । बरीस्ठ पत्रकार क्रान्ति सुब्बाको नियात्रा संग्रह

बरीस्ठ पत्रकार क्रान्ति सुब्बाको नियात्रा संग्रह ” हङकङ भित्र ” को थुप्रै ठाउँहरु घुम्छु वहाँहरु संगै ,लेखकको समुहमा म पनि घुम्दै छु जस्तै लाग्छ । मुक्तक लेख्न जान्दिन तर सुन्न र पढ्न रुचाउछु मज्जा लाग्छ । राजन सिलवालको ” दुई हजार सोर्ह पाइला ” पढ्छु । घर देश भन्दा पर प्रवासमा रहेर कसरी मुस्कुराउनु भएको छ भन्ने कथाको संग्रह ” यु ए इ ले बाडेको मुस्कान ” पढ्छु ४१ जनाको जीवन कथा पढ्दा लेखकलाई परेको पिडा अहिलेको मुस्कान सबैको साक्षी हुन्छु अनि ओशो रजनिश को ” नारी और क्रान्ति ” पढ्ने गरेको छु । तर पनि मेरा वरिपरि थुप्रै पुस्तकहरु छन् ,लक डाउन लम्बिएमा अरु पुस्तक संग पनि प्रीत गास्नु छ मैले ।

लक डाउनको मुक्ति मिल्ने दिन मेरो जन्मदिन थियो ,चैत २६ गते तर २६ आउन अघिनै अवधि थप गरीएको थियो । एकान्त वास महामारीको त्रास भएको बेला केक नकाट्ने उत्सब नगर्ने इच्छा थियो । छोरीको आग्रह लाई आफ्नो नेवारी परम्परागत संस्कृति अनुसारको जन्मदिनको सगुन तयार गर्ने र लिदिन अनुरोध गरिन । लाग्छ छोरी मेरो ममिको भुमिका निभाउन खोज्दै थिइन । अहिलेसम्म उत्सब नमनाएको मेरो पहिलो जन्मदिन हुँदै थियो ,म खुशी हुँदा पनि छोरीलाई खल्लो लागेर केक बनाउ?भन्दै सोधिरहेथिन । मैले यस्तो बेला सामान्य सगुन मात्र गरौ भने र सगुन लिएँ छोरीको हात बाट ,आमा लाई टीका लगाइदिइन ,लाग्थ्यो कि छोरी मेरो पुजा गर्दैछिन । अनौठो जन्मदिन भयो ,नौलो अनुभुत ।
यतिबेला लक डाउनले हामीलाई जस्तै पारीवारीक मिलनको अवसर दिएको छ, आफू लाई माया गर्ने समय दिएको छ ।अहिले सबैभन्दा सुरक्षित स्थान आफ्नो कोठा आफ्नो घर मात्र भएको छ । सरकारले गरेको लक डाउन लाई सबैले अनुशासित ढंगले पालना गरेर घर भित्रै रहेर आफुले आफुलाइ कैदि बनाएर बिना हतियारधारी युद्ध कोरोना माथिको जित हासिल गर्नु छ । त्यतिन्जेल सबै जना खुशी रहन सकौँ । यो कैदी समयको सेकेन्ड सेकेन्डको आनन्द लिन सकौँ।अहिले थन्किएका थुप्रै योजनाहरु पुनः सुचारू गर्नपर्छ । भोलि पर्सीका दिनमा अहिलेको एकान्त वासको मज्जाको कथा सुनाउन सकियोस् ,जति सक्छौँ आनन्दी बनौँ ,सबैलाई शुभ होस सबैलाई भलो होस ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट