काठमाडौं । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको सञ्चालक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले स्थानीयवासिन्दालाई सेयर दिने भएको छ । कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालिकाको मस्र्याङ्दी नदीमा ५० मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
सिनो हाइड्रोले कम्पनी लिमिटेडले जल्गिनी–अर्खलेबेँसी सडक स्तरोन्नति सङ्घर्ष समितिलाई वार्ताको माध्यमबाट समस्याको निकाय खोज्नुपर्ने बताउँदै त्यसनिम्ति वार्तामा बस्न आह्वान गर्दे स्थानीयको माग पुरा गर्ने जानकारी दिएको हो ।
उक्त कम्पनीले अपिल जारी गर्दै सङ्घर्षका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन समितिलाई आग्रह गरेको छ । कम्पनीले सरकारको कानुनमा नै व्यवस्था भएको १० प्रतिशत सेयर दिने व्यवस्था कार्यान्वयन गर्न आफू सकरात्मक भएको जानकारी दिएको छ ।
यस्तै नदीमा १० प्रतिशत पानी नियमितरुपमा छाड्ने र निर्माणका बेला र त्यो सम्पन्न भएपछि पनि प्रभावित क्षेत्रभित्रको सडक स्तरोन्नति गर्न सकारात्मक रहेको स्पष्ट गरेको छ ।
कम्पनीले सडक स्तरोन्नति गर्न तथा त्यसनिम्ति आवश्यक पर्ने रकमसमेत उपलब्ध गराउन सकारात्मक रहेको जनाउँदै आयोजनालाई प्रभावित पार्ने कुनै किसिममा गतिविधि नगर्न समितिसमक्ष अनुरोध गरेको छ ।
सङ्घर्ष समितिका संयोजक युवा घले र सचिव लोकनाथ घिमिरेले शुक्रबार संयुक्त वक्तव्य निकालेर आजदेखि चरणबद्धरुपमा आन्दोलन गर्ने घोषणा गरेपछि कम्पनीले वार्तामा आउन आह्वान गरेको हो ।
१ अर्ब ९ करोड नाफा
सिनो हाइड्रोले गत वर्ष १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९ /०८० मा कम्पनीले यो नाफा कमाएको हो।
कम्पनीको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजना छ।
चितवन कोई र पावर चाइनाको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले लगानीकर्तालाई साढे १७ प्रतिशत लाभांश दिने समेत घोषणा गरेको छ। आयोजनाले ०७३/०७४ बाट बिजुली उत्पादन सुरु गरेको हो ।
आठ वर्षअघि सञ्चालनमा आएको यो आयोजनाको विद्युत खरिद बिक्री डलरमा गर्ने सम्झौता भएको थियो। १० अर्ब रुपैयाँ रहेको यो आयोजनाबाट प्राधिकरणले ६.९५ सेन्टमा प्रतियुनिट विद्युत् किन्ने सम्झौता छ ।
यो पावर चाइना र चितवनको कोइ समूहअन्तर्गत सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको सिनो हाइड्रो आयोजना हो। ५ अर्ब रुपैयाँ कुल पुँजी रहेको कम्पनीमा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेको छ भने बाँकी ९० प्रतिशत पावर चाइनाको छ ।