
हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सांस्कृतिक हिसाबले हामी कस्तो समाज निर्माण गर्दैछौं ? यो निक्कै ठूलो बहस हो ।
युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध अहिलेका एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लोचोटि माओवादीहरुको नेतृत्वमा भएको जनयुद्ध ।
सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्, आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियो; परिबर्तनका लागि थियो ।
देश दस बर्षे गृहयुद्धबाट बल्लतल्ल तंग्रिँदो छ । स्थिर सरकार नेपालको चुरो समस्या थियो। समस्याको चुरो पत्ता लगाएर जनताले स्थिर सरकारका लागि म्यान्डेट दिएको थियो ।
जनतामा शान्ति र समृद्धिको आशा जागेको छ । त्यसैका लागि ०७४ को निर्वाचनबाट जनताले दुई तिहाईको जनमत वाम गठबन्धनलाई दिएको छ । जनताका आवश्यकता र आकांक्षाहरू धेरै छन् । तर, ती असम्भव भने पक्कै थिएनन् । मात्र नेताहरूमा दूरदृष्टि, इच्छाशक्ति र इमान्दारिताको खाँचो थियो ।
निर्वाचन जनताका लागि उत्सव हुनुपर्ने हो । तर, शासकहरूको स्वार्थ, नेता-कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दै गइरहेको छ।
राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ । देश कोरोना संग लडिरहेको बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका छन् ।
सके आफ्नै दलभित्रबाट, नसके दलबाहिरबाट, त्यतिले पनि नसके देशबाहिरबाट सरकार बनेको दिनबाट सरकार ढलाउने षड्यन्त्र सुरू हुने देश हो नेपाल । माननीय सांसदज्यूहरू भेडाबाख्रा झैं किनबेच हुने देश हो नेपाल । अनि कसरी देशमा राजनीतिक स्थिरता कायम होला ? स्थिर सरकारविना देशलाई समृद्ध र स्वर्ग बनाउने नेताहरूको कबुल कसरी पुरा होला ? टाउको दुखेको औषधि नाभीमा दलेर खोई कसरी रोग निको होला र नेतागण ?
नेताहरूले भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका हुन्छन् आ-आफ्नो घोषणा-पत्रमा । तर, चुनावमा पैसाको खोला बगाएका नेताहरूले खर्च भएको पैसा भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदिए त नेताहरूले ? असंभव । त्यसैले नेतागण यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।
दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ । देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । तर, बिडम्बना ! देशका राष्ट्रपति, प्रधानमन्त्रीले चाहिँ महारानी र महाराज, साँच्चै आफूलाई राजा, रानी नै ठानेका हुन् कि ? मानौं अहिले देशमा केही भएको छैन । गरिब मजदुर भोका बस्नु परेको छैन । नाकामा अलपत्र नागरिकलाई पिडा छैन् ।
निर्मलाहरूले न्याय पाइसके । सब ठीकठाक भइसक्यो ।
हाय ! कति क्रुर हुँदोरहेछ मन ? आˆनै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र ? कि अझ बढी मानवतावादी हुनु हो ?
एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्री जस्तो गरिमामय कुर्सीमा बसेको व्यक्तिले यस्तो संकटको अबस्थाको भुमिका कस्तो हुनुपर्थ्यौ ? प्रधानमन्त्री कुनै व्यक्ति होइन, संस्था हो ।शिखर ब्यक्तित्वहरू ब्यक्ति भएर पनि केवल एउटा ब्यक्ति मात्र हुँदैनन् संस्था हुन्छन् । नेपाली राजनीतिमा तपाईँ एउटा संस्था हो । तपाईँको सकारात्मक सोंच र कुशल नेतृत्वले यो देश बन्ने जति सम्भावना छ, नकारात्मक सोच र दुर्बल नेतृत्वले बिग्रने खतरा पनि त्यतिकै छ । सम्हालिनुस् समृद्धिका नाममा अविकासको विकास र गरिवी जाल सिर्जना नहोस् । नेपाली राजनीतिमा तपाईँ एउटा संस्था हो । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो ।
सम्माननिय प्रधानमन्त्री ज्यु ,तपाईलाई लिएर आज जे जति र जे जस्ता टिकाटिप्पणीहरू भइरहेका छन्, त्यसले मलाई असाध्यै दु:खी बनाएको छ ।तर, अस्वाभाविक भने पटक्कै लागेको छैन । तपाईँसँग जनताको ठूलो अपेक्षा थियो। जनता एकता, शान्ति र समृद्धि चाहान्छन् । यी सबै कुरा औपचारिक लोकतन्त्रको जगमा होइन, सच्चा लोकतन्त्रिक ब्यबहारबाट मात्र संभव छ । प्रधानमन्त्रीज्यू ! कुरा समृद्धिको होइन, संस्कृतिको हो । समुन्नत संस्कृतिविना समृद्ध समाज निर्माण सम्भव होला र ?
आखिर, वर्गीय रूपमा पीँधमा रहेका नेपाली जनताले के पाउँछन् ? जातीय, क्षेत्रीय र लैंगिक रूपमा भेदभावमा पारिएका जनताले के पाउँछन् ? त्यो विकास र समृद्धिबाट फाइदा उठाउनेहरू त उही हुन्छन्, जो हिजो थिए र आज छन् ।
एक करोड ५४ लाख मतदातामध्ये ५० लाख युवा मतदातालाई बिदेशमा बेचेर प्राप्त बिप्रेषणबाट देश चलिरहेको छ । ती ५० लाख मतदाताको बिप्रेषण आउन बन्द भएको भोलिपल्ट देशको हालत के होला ? देशका लागि केहि सोच्नु भएको छ तपाइले ? त्यसैले प्रधानमन्त्री ज्यु, बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ?
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend