
२४ वैशाख, काठमाडौं । बुधबार चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा नेपाल एयरलाइन्सले दुई वाइडबडी जहाजबाट चार्टर्ड उडान गर्ने भएको छ।
निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन्।
उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ। वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १: ३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ।
दोस्रो जहाजले आज साँझ ५:३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ। उक्त जहाज भोलि काठमाडौं फर्कने तालिका छ। दुबै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ। वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ। लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ। निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घन्टाको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend