मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

चीनमा थपिए १७ जना सङ्क्रमित, वुहानमा परीक्षण अभियान

चीनमा थपिए १७ जना सङ्क्रमित, वुहानमा परीक्षण अभियान

कोभिड–१९ को महारामारी नियन्त्रणमा लिएको दाबीका बाबजुद चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि वुहानमा आमपरीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने वुहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिन–प्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिँदै गएको छ ।

चिनियाँ अधिकारीहरुले अहिलेसम्म वुहानका मात्रै झण्डै एक करोड दश लाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए–नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको बताएका पीटीआईले जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार (१६ मे) थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिँदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend