काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएका बताए । उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पोखरा पर्यटकीय राजधानी बन्द कि बन्दैन ? भन्ने प्रश्न उठाएको पनि बताए । सांसद बैरागीले बजेटमा निर्वाचन क्षेत्र रणनीतिक योजनाहरु कटौति गरिएको भन्दै आपत्ति समेत गरे ।
उनले भने, ‘पोखरालाई पर्यटकको राजधानी घोषणा गरिएको छ । तर अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन ? भन्ने पश्न उठेको छ । वर्षा सुरु भएको छ । धेरै ठाउँमा असिना, पानीले, बाढी पहिरोले समस्या भइराखेको छ । र त्यो विपद् व्यवस्थापन गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । सरकारी अस्पतालको बिस्तारमा बजेटको कमी छ । निर्वाचन क्षेत्रका रणनीतिक योजनाका कार्यक्रम बजेटमा कटौति गरिएको छ । यी र यस्ता धेरै कमीहरु बजेटमा रहेका छन् । ’
सांसद बैरागीले बाढी, पहिरो र असिनासहितको वर्षाले क्षति पर्याउने काम शुरु गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए ।