काठमाडौं । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा पाँचतारे ग्रान्ड सेन्ट्रल होटल निर्माण गरिरहेका छन् । अहिलेसम्म होटलको ५३ प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी सन् २०२५ मा ‘सफ्ट लञ्च’ र २०२६ मा पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको ग्रान्ड सेन्ट्रलले जनाएको छ ।
कूल १ अर्ब ७ करोड २० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको होटलमा ८० कोठाहरु बन्ने छन् । होटल बनाउन व्यवसायी बस्नेतले विभिन्न बैंकहरुबाट ८३ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । होटलमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी रहेको कम्पनीले जनाएको छ ।
ग्रान्डले अमेरिकी होटल ग्रुप विन्डह्याम होटल एसिया प्यासिफिक कम्पनी लिमिटेडसँग व्यवस्थापन सम्झौता गरेको छ । भारतको नयाँ दिल्लीमा भएको फ्रान्चाइज सम्झौतामा ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र विन्डह्यामको युरेसिया बजार प्रबन्ध निर्देशक निखिल शर्माले गत असारको पहिलो साता हस्ताक्षर गरेका छन् ।
होटल ‘विन्डह्याम होटल बाइ रमाडा इटहरी पशुपति मार्ग’ ब्रान्डमा सञ्चालन गर्न विन्डह्यामसँग सम्झौता गरेको छ । ग्रान्डमा लगानी गरेको एबी इन्भेस्टमेन्ट होल्डिङ्स अध्यक्ष बस्नेत एकल सेयरधनी हुन् । कम्पनीले पर्यटन क्षेत्रमा परियोजना विकास र विविधमार्फत प्रत्यक्ष स्वपुँजी (इक्विटी) लगानीको नेतृत्व गरेको छ ।
विन्डह्याम होटल्स एन्ड रिसोटर्सले ९५ देशमा २४ ब्रान्डमा ९ हजार १ सयभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ । रमाडा विन्डह्यामको ‘मिडस्केल’ ब्रान्ड हो । होटलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा, आउटडोर स्विमिङ पुल, ब्यांक्वेट हल, मिटिङ हललगायत पाँचतारे स्तरका सबै सुविधा उपलब्ध हुनेछन् ।
पूर्वी नेपालका व्यापारिक केन्द्र इटहरी सुनसरीको सबैभन्दा ठूलो सहर हो । यसले विराटनगरको प्रान्तीय राजधानी र भारतसँगको सिमानासम्म सहज पहुँच प्रदान गर्ने छ । होटलको रणनीतिक स्थान नेपाल–भारतको सीमाबाट ३० किलोमिटर दुरीमा रहेको छ ।
सीमा नजिक भएकाले भारतबाट आउने पर्यटकलाई विशेष गरी मनोरञ्जनका लागि आकर्षित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिको सभापति हुन् । नेपालको पर्यटन क्षेत्रमा एक दशकदेखि सक्रिय बस्नेत महासंघ कार्यकारिणी सदस्यमा दुईपटक निर्वाचित भइसकेका छन् ।
यसअघि महासंघ एनआरएन तथा द्विराष्ट्रिय फोरम सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैरआवासीय नेपाली संघसंस्था चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम भूमिका निर्वाह गरेका छन् ।