काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष तथा व्यवसायी राजेश श्रेष्ठसहित ९ जना पक्राउ परेका छन् । सेञ्चुरी बैंक ठगीको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवत्ता तथा एसपी होबिन्द्र बोटगीले जानकारी दिए ।
उनका अनुसार बैंक ठगीको आरोपमा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनीलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरिएको छ। धरानबाट अभिषेक बज्राचार्य पक्राउ परेसँगै ९ जना पुगेको हो । उनीहरुमाथि अनुसन्धान हुने प्रवत्ता बोगटीले सुनौलो नेपाललाई जानकारी दिए ।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेका थिए ।
सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ।
बयानपछि पक्राउ परेका सबै गत चैत १ मा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ । सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋण उठाउन प्रभु बैंकलाई सास्ती भएको छ ।
देउराली बहुउद्धेशिय सहकारी संस्था लिमिटेडकाका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।बचतकर्ताको ७ अर्ब रुपैयाँ हिनामिना गरेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा छन्।
देउराली सहकारीका अध्यक्ष चौलागाईंले बचतकर्ताको बचत दुरुपयोग मात्र गरेका छैनन्, कमजोर धितोमा ४ अर्ब रुपैयाँ ऋण लिएर पाँचवटा बैंकलाई जोखिममा पारेका छन्। उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट कुल ४ अर्ब रुपैयाँ ऋण लिएको देखिएको अनुसन्धानबाट खुलेको छ।
प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरीबाट मात्रै उनले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । सेञ्चुरीमा ऋण अपचलन गरेपछि अहिले प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशत छ।
यो पनि :
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
ऋण अपचलनको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ
सेन्चुरी कमर्शियल बैंकको सिइओ हुँदा मनोजले गरेका थिए २ अर्ब भन्दा बढी ऋण अपचलन
सिआइबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ सहित क कस्लाई गर्यो पक्राउ