बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

बाहिर बाट फर्किएकाको स्वास्थ्य जाँच गर्न चुनौती बन्दै

बाहिर बाट फर्किएकाको स्वास्थ्य जाँच गर्न चुनौती बन्दै

भारतलगायतका ठाउँबाट नेपाली धमाधम फर्किन थालेपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, खाना र स्वास्थ्य जाँचलगायतको व्यवस्थापन गर्ने चुनौती देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको गड्डाचौकी र गौरीफन्टा सीमानाका हुँदै भारतबाट नेपाली भित्रिनेक्रम पछिल्ला दिनमा बढेको छ । यसबाहेक नेपालका कपिलवस्तु, सप्तरी, सिराहालगायतका जिल्लाबाट कैलाली फर्किने पनि बढ्न थालेका छन् । गएको तीन दिनमा भारतबाट गौरीफन्टा नाका हुँदै भित्रिएकालाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयमा राखिएको कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले बताउनुभयो ।

स्वास्थ्य सामग्रीको अभावमा उहाँहरुको स्वास्थ्यको नमूना जाँच कहिले गर्ने कसरी गर्ने भन्ने चुनौती स्थानीय तहलाई देखिएको उहाँले बताउनुभयो । कोरोनाको सङ्कटसँगै कैलालीका स्थानीय तहले कतिपय विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिरहेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिकामा मात्रै केही दिनयता नेपालका कपिलवस्तु, सप्तरी, दाङका साथै भारतबाटसमेत गरी झण्डै ६० जना फर्किएका छन् ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालयका साथै कैलाली बहुमुखी क्याम्पसमा फर्किनेलाई राख्न थालिएको छ । उद्धार कार्यमा नगरप्रमुख नृपबहादुर ओड आफैँ खटिनुभएको छ । “बुधबार राति अबेरसम्म नाकामै बसेर सीमामा अलपत्र परेका नेपालीको उद्धार ग¥र्यौं”, उहाँले भन्नुभयो । गाउँपालिका स्तरमा कोरोनाको शङ्कास्पद व्यक्तिको आरडिटी किटमार्फत स्वास्थ्यको नमूना जाँच हुने गरेकामा अधिकांश गाउँपालिकामा यो किटको अभाव देखिएको बताइएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आरडिटी जाँचका लागि देखिएको किटको अभावको पूर्ति गर्न पहल गरिएको बताउनुभयोे । “किट उपलब्ध गराइदिन सङ्घीय सरकारलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले किट प्राप्त गरेपछि भागमा पर्ने किट हामी पाउँछौँ ।”

सरकारले गरेको लकडाउनको पूर्ण परिपालना गर्नुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री सुवेदीले बताउनुभयो । कामको खोजीमा बाहिरिएका सङ्क्रमित क्षेत्रबाट फर्किन थालेपछि सङ्क्रमण फैलिने हो कि भन्ने त्रास स्थानीयमा देखिन थालेको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend