
चीन : चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट कोरोना भाइरसको विश्वव्यापी महामारी प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको चिनियाँ विदेशमन्त्रीले बताएका छन् ।
विदेशमन्त्री वाङ यीले आइतबार (२४ मे) राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?’
अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिरलैजाने प्रयास गरेको आरोप पनि वाङले लगाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले वुहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन् ।
धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस वुहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुन सक्ने उनीहरुको भनाई छ ।
पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ ।
दी न्युयोर्क टाइम्सले आइतबारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ ।
‘यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,’ उपशीर्षकमा भनिएको छ ।
अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्ने क्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend