वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए । उनीहरु सबैको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्ज गरिएको डा. सिंहले सुनौलो नेपाललाई बताए । अस्पतालबाट घर नजिकै रहेका कारण राति नै डिस्चार्ज गरिएको उनले बताए ।