
नयाँदिल्ली : भारत सरकारले लकडाउनका प्रतिबन्धहरूमा केही खुकुलो गर्दै आजदेखि आन्तरिक उडानहरू सञ्चालनमा ल्याएको छ।
सामाजिक सञ्जालहरूमा भने कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उक्त सरकारी निर्णयको समीक्षा हुनुपर्ने माग आइरहेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतभर कुल संक्रमित संख्या एक लाख ३१ हजार नाघेको छ।
एअरलाइन्सहरूले एक तिहाइ उडान शुरु गरिएको बताएका छन्। जहाजका यात्रीहरूको क्वारेन्टाइनसम्बन्धी नियम स्पष्ट नहुँदै उडान शुरु गरिएको छ।
भारतका व्यस्त र व्यापारिक हवाई अड्डा मानिने महाराष्ट्र, तमिलनाडु र पश्चिम बंगालका विमानस्थलहरूले उडान सञ्चालन गर्ने तयारी पूरा नभएको बताएका छन्।
केन्द्रीय उड्डयन मन्त्री हरदीपसिंह पुरीले आजदेखि आन्तरिक उडान सञ्चालन हुन थालेकामा ट्विटरमार्फत खुशी व्यक्त गरेका छन्।
तर, पश्चिम बंगाल सरकारले आन्तरिक उडान थाल्न केही समय दिन केन्द्र सरकारसँग आग्रह गरेको छ। पश्चिम बंगाल अहिले बंगालको खाडीबाट शुरु भएको अम्फन तुफानका कारण अस्तव्यस्त अवस्थामा छ।
केन्द्रीय मन्त्री पुरीले भने आगामी बिहीबारदेखि कोलकाताबाट पनि उडान शुरु हुने बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend