शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

वीरगन्जका २१ कोरोना संक्रमित निको भएर घर फर्किए, नेपालमा कोरोना जित्ने संख्या बढ्दै

वीरगन्जका २१ कोरोना संक्रमित निको भएर घर फर्किए, नेपालमा कोरोना जित्ने संख्या बढ्दै

वीरगन्ज, जेठ १४ । नारायणी अस्थायी कोभिड अस्पतालबाट मंगलबार २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् । डिस्चार्ज हुने सबैजना वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख २७ र ३० गते कोभिड–१९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो । त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो । वीरगन्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन्,’ डा. उपाध्यायले भन्नुभयो ‘उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend