
धादिङ : विहिबार १३ औं गणतन्त्र दिवस, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको दिन । नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भई १३ औं वर्षमा प्रवेश गरेकोक अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले यो दिवस मनाउँदै छन् ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर, यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोहको आयोजना गरिएको छैन । सरकारले विश्वव्यापी महामारीलाई ध्यानमा राखि दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
गणतन्त्र दिवसका अवसरमा धादिङमा ४ जनाको कैद तथा सजाय मिनाहा भएको छ । सवारी ज्यान मुद्धामा जिल्ला कारागार धादिङमा रहेको चार जनाको कैद तथा सजाय मिनाहा भएको कारागार धादिङका जेलर गंगालाला योगीले सुनौलो नेपाललाई जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ र फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम बाँकी कैद कट्टा अर्थात मिनाहा दिने नेपाल सरकारको निर्णय अनुसार कैद तथा सजाय मिनाहा गरिएको जनाएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend