काठमाडौँ : काठमाडौँको बौद्ध सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । हुम्लाका प्रतिनिधिसभा सदस्य छक्क बहादुर लामाले सो क्षेत्रमा रहेका हुम्लाका स्थानीय बासीको परीक्षणका लागि पाँच सय पीसीआर कीटसहित पुगेका थिए ।
पीसीआर टेष्ट कीट नपुग्ने भएपछि कसको परीक्षण गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले कीट कम हुँदा विवाद भएको र झडप भएको जानकारी दिनु भयो । झडपमा मानवीय क्षति नभएको उहाँले बताउनु भयो ।
यसैबीच, हुम्लाबाट काठमाडौँ आएर बसेका नागरिकहरु अलपत्र परेकाले पीसीआर परीक्षण गर्ने र रिपोर्टको आधारमा जिल्ला फर्काउने उद्देश्यले परीक्षण गरिएको सांसद छक्क बहादुर लामाले जानकारी दिनुभयो ।
हुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा आज पाँच सय मात्र कीट व्यवस्थापन गर्न सकेकोमा ४ सय ६५ को परीक्षण भएको लामाले जानकारी दिनु भयो ।
अरुको पनि क्रमश परीक्षण गर्ने र समस्यामा परेका सर्वसाधारणको उद्धार गर्ने योजना रहेको उनले जानकारी दिनु भयो ।