
काठमाडाैं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैले थर बदलेर दलित राख्न प्रस्ताव राख्नुभएकाे छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त प्रस्ताव राख्नुभएकाे हाे ।
श्रम गर्ने र सिप भएकालाई चाहिँ दलित भनेर हेपेपछि विकास नहुने पनि उहाँले बताउनुभयाे । ‘श्रम गर्ने र सिप भएकालाई चाहिँ दलित भनेर हेपेपछि कसरी विकास हुन्छ ?’ उहाँले भन्नुभयाे, ‘मेरो चाहिँ एउटा प्रस्ताव छ- तपाई हामी सबैले दलित नाम राखौं, बाबुराम भट्टराई कामी भन्न किन नहुने ? काम गर्ने मान्छेलाई कामी भन्दा किन गाली गर्ने ? हामी सबैले थर बदलौं त, त्यसो भए बरु बराबर भइन्छ ।’
समाजवादी पार्टीको नेता भट्टराईले रूकुमा भएकाे घटना परिकल्पना गर्ने नसक्ने भएकाे पनि बताउनुभयाे । ‘रुकुममा जुन घटना भयो, त्याे त परिकल्पना गर्ने पनि सकिँदैन । त्यत्रो क्रान्तिको आधार किल्लामा त्यत्रो ठूलो हर्कत हुन्छ भने देश कहाँ गइरहेको छ ? त्यसैले यस्ता विषयहरुलाई हामीले ध्यान नदिएसम्म सामाजिक सुरक्षा सुधार हुँदैन,’ उहाँले भन्नुयभाे ।
जातिय भेदभाव भएसम्म सामाजिक न्याय पनि नहुने उहाँले बताउनुभयाे । ‘हाम्रो यो जुन जात-पाद प्रथा छ, कथिल दलित भनेर हेप्ने चलन छ, त्यो भएसम्म सामाजिक न्याय पनि हुँदैन । र वर्णक्रम व्यवस्थालाई हामीले नफेरेसम्म हाम्रो चाहिँ श्रम गर्ने संस्कार पनि आउँदैन,’ उहाँले भन्नुभयाे, ‘अलिकति पढेलेखेका बाहुन भनिने हामी जस्ता मान्छे श्रम गर्नु हुन्न भनेर उपदेश दिएर बस्ने, क्षेत्रीहरु कुनै बेला लडाइँ लड्थे राज्य विस्तारको लागि, अहिले त्यो काम छैन । उनीहरु पनि अर्काकै कामई खाएर बस्ने, अनि काम गर्नेलाई दलित भनेर हेप्न ?’
उहाँले फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने पनि बताउनुभयो । ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई, सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो गर्यो भने राजस्व बढ्छ,’ उहाँले भन्नुभयो ।
नेता भट्टराईले सम्पूर्ण नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न पनि सरकारलाई सुझाव दिनुभयो । अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न दिन नहुने भन्दै यसमा सबै दायित्व राज्यले लिनुपर्ने पनि बताउनुभयो । शिक्षा र स्वास्थ्यमा कसैले लगानी गर्छ भने परोपकारका लागि गर्न सकिने तर ब्यापार गर्न नपाइने नियम लगाउन भट्टराईको सुझाव छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend