
काठमाडौँ : रुकुम घटनामा बेपत्ता छैटौं युवाको शव पनि भेरी नदीमै फेला परेको छ ।
११ दिनदेखि वेपत्ता गोबिन्द शाहीको शव मंगलबार दिउँसो भेरी नगरपालिका १२ स्थित खोदाखोला नजिकै नदीमा फेला परेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताउनु भयो । शाहीको शव स्थानीयले फेला पारेका हुन् । नदीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको श्रेष्ठले बताउनु भयो ।
शाहीसहित ६ जना जेठ १० गते साँझदेखि बेपत्ता थिए । त्यही दिन तीनजनाको शव फेला परेको थियो । अन्य दुईजनाको तेश्रो र चौथो दिन नदीमै शव फेला परेको थियो । योसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए ।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा शव फेला परेको थियो भने बुधबार दिउँसो भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र बिहीबार सन्दीप विकको शव फेला परेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend