
प्रधानमन्त्री केपी शर्मा ओलीले आज छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारले मानव सभ्यताको कलङ्कका रुपमा रहेको यस अमानवीय प्रथालाई कानूनी रुपमा अन्त्य गरेको भन्दै सामाजिक बहिष्करण, छुवाछूत मानवहित विरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहन नसक्ने बताउँनु भइरहेका बेला रुकुम घटनाले सडक देखि सदन सम्म तातिरहेको छ ।
थाहा छ मलाई, यसबेला जाजरकोटका सन्तानको बाबु आमा पिडामा असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले उहाँहरुलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ । मेरो उद्देश्य कसैलाई चोट थप्नु नभएर थोरै भए पनि चोटमा मलमपट्टी गर्नु हो ।
मृत्यु शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, सबैलाई थाहा छ- मृत्यु शाश्वत सत्य हो । र, यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठिन हुन्छ । अझ आमाबाबुको निम्ति सन्तानको मृत्यु भयानक असह्य हुन्छ । तर स्वीकार गर्नुको विकल्प पनि त हुँदैन । आज भएभरको साहस जुटाएर सन्तानको मृत्यु स्वीकार गरिरहनु भएको छ । कामना गर्दछु- भगवानले परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून !
कसैले कर्तव्य गरी हत्या गरेको भए पनि र कसैले मर्न दुरुत्साहन गरेको जे भएपनि यहि धर्तिका सन्तान को मृत्यु भएको छ । एक आमाको काख रित्तिएको छ, चेलीको सिन्दुर पुछिएको छ ।
ब्यक्तिगत रूपमा सुस्मा र नवराज को कस्ता थिए, म जान्दिन। सामाजिक सन्जालको भित्तामा लेखिए जस्तै साह्रै असल थिए वा पूरै खराब थिए । समयले दूधको दूध, पानीको पानी छुट्याउँदै जाला । कुनै पनि ब्यक्तिको मुल्यांकन उसको कर्मको आधारमा हुनुपर्छ भन्ने मान्यता राख्दछु म ।
विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । सायदनिकट भविश्यमा मान्छे अरू ग्रहमा बसाइँ सर्न सफल हुन्छन् होला । तर, विडम्वना ! हाम्रो देशका हामी नागरिक चरम अन्धविश्वासको अन्धकार युगमा बाँचिरहेका छौं । चरम अन्धविश्वासको अन्धकार युगबाट नागरिकलाई विज्ञानको उज्यालो युगमा ल्याउने जिम्मा सरकारको हो ।
सरकार समृद्धिको चर्को कुरा गरिरहेको हुन्छ ।अझ प्रधानमन्त्रीज्यू त बातैपिच्छे रेल र पानीजहाजको भन्दा अरू कुरै गर्नुहुन्न थियो। उहाँको सपना-विपना नै पानीजहाज र रेल नै हो । पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि मानौं नेपाल स्वर्ग बन्छ । कुनै नेपालीहरू दुःखी, गरिब, असहाय, निमुखा रहँदैनन् । औषधोपचारको अभावमा कोही नेपालीको अकालमा ज्यान जाँदैन । रोजगारी खोज्दै अरबको ५५ डिग्रीको तापक्रममा कुनै नेपाली युवा पसीना चुहाउन जानुपर्दैन । अनि पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि छाउगोठमा कुनै पनि किशोरी र युवतीहरू सर्पले डसेर अकालमा मर्नुपर्दैन ।
कुनै भुस्तिघ्रे नरपशुहरूबाट छाउगोठमा किशोरीहरू बलात्कृत हुनुपर्दैन । तल्लो जात भएकै कारण कथित उपल्लो जातबाट धारा, पधेंरो छोएकै आधारमा अपमान र यातना भोग्न पर्दैन । सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक कुनै पनि भेदभाव, उँचनीच केही ब्यहोर्न पर्दैन । किनकि, हाम्रो देशमा पानीजहाज र रेल दौडिरहेको हुनेछ ।
मानिलिउँ, पानीजहाज र रेल भोलिदेखि नै नेपालमा कुद्न थाल्यो रे ! आखिर, वर्गीय रूपमा पीँधमा रहेका नेपाली जनताले के पाउँछन् ? जातीय, क्षेत्रीय र लैंगिक रूपमा भेदभावमा पारिएका जनताले के पाउँछन् ? त्यो विकास र समृद्धिबाट फाइदा उठाउनेहरू त उही हुन्छन्, जो हिजो थिए र आज छन् । तपाईंहरुले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कुरा समृद्धिको होइन, संस्कृतिको हो । समुन्नत संस्कृतिविना समृद्ध समाज निर्माण सम्भव छैन ।
हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ । कतिपय समयसापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ, त्यसलाई राज्यले कडा कानुन बनाएर भत्काउनुपर्छ । धर्म, संस्कृति र परम्पराका नाममा मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।
युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । नागरिकको सोच र संस्कार परिवर्तनका लागि सरकार योजनावद्ध सशक्त कार्यक्रमहरू लिएर जनतामाझ जान जरूरी छ । साथै, आवश्यक नियम कानुन निर्माण गर्दै प्रभावकारी कार्यान्वयन गर्न पनि जरूरी छ । तर, सरकारसँग यस्तो कुनै प्रष्ट नीति, कार्यक्रम देखिँदैन ।
प्रत्येक दिन अन्धविश्वासका कारण कुनै न कुनै सानाठूला घटनाहरू समाजमा घटेकै हुन्छन् । कुनै घटनाले समाजमा बिग्रह पैदा गर्छ त कुनैले विभेद । कुनै घटनाले मान्छेको ज्यानै जान्छ त कुनै घटनाले धन सम्पत्तिको नोक्सानी गर्छ । देश र समाजलाई अघि बढाउन तगारो बनिरहेका यस्ता अन्धविश्वासी संस्कृतिलाई अन्त्य नगरेसम्म समृद्धि कसरी आउला ?
अन्धविश्वासका कारण मान्छे मर्छ । दुईचार दिन सामाजिक सन्जाल रंगिन्छ । सरकार कानमा तेल हालेर सुनेको नसुन्यै गर्छ । बिरोध क्रमशः मत्थर हुन्छ । अन्तमा हराउँछ । त्यसपछि सरकार लाज पचाएर पुरानै शैलीमा जनतामाथि शासन गर्छ ।
कम्युनिस्टको अर्थ साम्यवादी हो । साम्यवाद मान्छेको सोंच, चिन्तन, ब्यबहार र सामाजिक संस्कारमा अन्धविश्वासको अन्त्य र बिज्ञानको अबलम्बनविना सम्भव छैन ।
सबै मान्छेको आफ्नो निजी जीवन हुन्छ र हुनु पनि पर्छ ।अन्याय पाउँने ब्यक्तिले निष्पक्ष र धाँधलीरहित भएर न्याय पाँउन। अन्याय मा परे भने यो चाहिँ पक्कै क्षम्य बिषय हुने छैन । बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं ।
अन्तमा,
देशको इज्जत र पदीय मर्यादाका लागि पनि राष्टपतिको बिलासी जिवन आवश्यक छ भन्ने तर्क पनि सुनिदै आएको छ । जुनबेला देशका सबै नागरिक सुखी र खुसी हुनेछन्, त्यसबेला स्वतः देशको इज्जत सगरमाथाको शिखरसरी चुलिनेछ । जनतालाई निरपेक्ष गरिबीको रेखामुनि राखेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू करोड होइन, अर्बकै विलासी जिवन बिताएँ पनि देशको इज्जत रहँदैन ।
तपाईंहरुको उखानटुक्काले देश बन्दैन । सुझाव छ नेतागण तपाईंलाई- बोल्नुभन्दा अघि २० चोटि सोचेर मात्र बोल्ने गर्नुस् । आफूले बोलेको कुरा बिष पिएर भए पनि पूरा गर्नुस् ।
अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend