
धादिङ : संकट व्यवस्थापन केन्द्र धादिङको बैठकले जिल्लामा थप कडाई अवलम्बन गर्ने भएको छ । व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बुधबार (२१ जेठ) बसेको बैठकले लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि जिल्लासँग सीमाना जोडिएका नाकाहरुमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट गस्ती गर्ने निर्णय गरेको छ । यस्तै धादिङ र काठमाण्डौंको सीमाना पिप्लामोड र बेनिघाट रोराङको मौवाखोलामा मानिसहरुको पैदल यात्रा गर्न पूर्ण रोक लगाइने भएको छ । अति आवश्यकीय खाद्यान्न, निर्माण सामाग्रीलगायत अन्य सामानहरु उद्योग वाणिज्य संघको समन्वयमा मात्र आपुर्ति व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै विभिन्न जिल्लाबाट आएका ७ ओटा बसहरु पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा रोकिएको छ।
यसैगरी आम नागरिकका लागि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिका लागि बिहानदेखि बेलुकासम्म दुध र तरकारी पसलहरु खुला गर्ने र अन्य प्रकृतिका पसलहरु बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म सबै खुला गर्ने निर्णय गरिएको छ । तर जिल्लाका विभिन्न स्थानीय तहहरुले पसल तथा बजार खोल्नका लागि आफूअनुकुल निर्णय गरेका छन् ।
धादिङमा अहिलेसम्म चार जना कोरोना रोगबाट संक्रमित भएकोमा तीन जना निको भई घर फर्किसकेका छन् । एक जनाको उपचार भैरहेको बैठकमा जानकारी गराइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend