
काठमाडौँ : कोभिड – १९ कोरोना भाइरस महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । बर्मामा रहेका २६ जना नेपाली लिएर म्यानमारको सैनिक जहाज शुक्रबार काठमाडौँ आउने भएको छ ।
स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौँमा रहेका बर्मेली नागरिक लिएर जानेछ । शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।
सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।
सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्याउने जिम्मा गुरुङले पाएका हुन् ।
विमानस्थलमा उत्रिएपछि उनीहरूलाई मन्त्री गुरुङसहित सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ । होल्डिङ केन्द्रमै उनीहरूको सबै व्यक्तिगत विवरण लिएर केहीबेर आराम गराएपछि मन्त्री गुरुङले त्यहीँबाट सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।
पहिलो पटक विदेशबाट नेपाली ल्याउने सन्दर्भमा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, बर्माका लागि नेपाली राजदूत भीम उदासबीच छलफलसमेत भएको स्रोतले बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend