
चर्चित अभिनेत्री मनीषा कोइराला अब नेपालको नागरिक अभियानमा पनि संलग्न हुन थालेकी छन् ।
सरकारले हालै बजेट मार्फत बिजुली गाडीमाथि लगाएको करको भार हटाउन माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रमा मनीषा कोइराला सहित १७ जनाले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएको ४ पाना लामो ज्ञापनपत्रमा तीर्थबहादुर श्रेष्ठ, मनीषा कोइराला, कुलचन्द्र गौतम, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, डा. रिता थापा, भूषण तुलाधर, अमृत गुरुङ, गौरीशंकरलाल दास, गौरवशमशेर राणा, डा. अर्जुन कार्की, सुमित्रा मानन्धर, कनकमणि दीक्षित, डा। डम्बर चेम्जोङ, सुमन शर्मा, राजेन्द्र दाहाल र सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।
भारतले मिचेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि कोइरालाले दुई साताअघि नेपालमा प्रशंसा र भारतमा आलोचना पाएकी थिइन् । भारतबाट मंगलबार राती भैरहवा नाका हुँदै काठमाडौँ आएकी कोइरालाको कोरोना भाइरस परीक्षण रिपोर्ट निगेटिभ आएको छ। क्यान्सरविरुद्धको अभियानमा रहेकी मनीषा अब नागरिक अभियानमा पनि संलग्न हुन थालेकी हुन् ।
विश्व वातावरण दिवसको सन्दर्भमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेस गर्दै उनीहरूले विद्युतीय गाडीको प्रस्तावित महशुल घटाएर पहिलेकै दर कायम गर्न अनुरोध गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय गाडी पैठारीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्क वृद्धि गर्नु सरकारको नीति र प्रतिबद्धताविपरीत रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend