
सरकारी कार्यालय, बैंक, कृषि व्यवसाय, उद्योगधन्दा खुल्न थालेसँगै पृथ्वी राजमार्गमा चहलपहल बढेको छ ।
राजधानी उपत्यका भित्रिने मुख्य राजमार्गका बजारहरु मझीमटार, मलेखु, गजुरी, आदमघाट, गल्छी, नौबिसेमा मानिसको भीड बढेको छ भने अत्यावश्यक सामग्रीका पसल पनि खुलेका छन् ।
विभिन्न कार्यालय र उद्योग खोल्ने सरकारी निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले राजमार्गमा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझेका कारण मानिसहरु काम नपरे पनि घरबाहिर निस्कन थालेका छन् ।
पहिले साँझबिहान मात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि राजमार्गका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।
कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटिए । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिलेजस्तै पालना गर्नुपर्छ भन्ने जानकारी नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर हेपाहा शैलीमा बाहिर निस्केको पाइएको छ ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्टले चहलपहल बढ्दा सवारी पासको दुरुपयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताए । लकडाउनको सुरुको साताभन्दा पछिल्लो समयमा पासको दुरुपयोग नभएको भट्टको भनाई छ । ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारी साधनको चेकचाँच पनि बढाएको उनले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend