काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलको सेवामा आएको समस्या समाधान भएको छ । यसअघि एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो ।
एनसेलले अपरान्ह ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको जनाएको थियो ।साथै, कम्पनीले सेवा अवरुद्ध हुँदा भएको असुविधाप्रति ग्राहकसँग सामाजिक सञ्जालमार्फत क्षमा मागेको थियो ।
एनसेलले उक्त समस्या समाधान भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । एनसेलले अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु पूर्णरुपमा पुनः संचालनमा आएको जनाएको हो ।
एनसेलले भनेको छ, ‘आज दिउँसो अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयामा नै पूर्णरुपमा पुनः संचालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौं । सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।’