
भारतीय र चिनियाँ सेनाबीच सोमबार राति (१५–१६ जुन) पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको छ । शुरुमा तीन जनाको ज्यान गएको भनिए पनि आफ्नो सेनाका २० जनाले ‘शहादत प्राप्त गरेको’ भारतीय पक्षबाट पुष्टि गरिएको छ ।
भारतीय सेनाको पछिल्लो वक्तव्यमा चिनियाँ सैनिकहरूसँगको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको उल्लेख छ । सेनाको वक्तव्यमा भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष बिराम भएको समेत जनाइएको छ ।
मंगलबार राति अबेर गरी भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘१५ र १६ जुनको राति यहाँ दुवै देशका सैनिकबीच झडप भएको थियो । भारत र चीनका सेना गलवान इलाकाबाट पछि हटिसकेका छन् । झडपका क्रममा ड्युटीमा रहेका १७ भारतीय सैनिक गम्भीर रूपले घाइते भएका थिए । शून्य डिग्रीभन्दा तलको तापमान र निकै उचाईको क्षेत्रमा गम्भीर रुपले घाइते भएकाले सत्र सैनिकको मृत्यु हुन पुग्यो । यसरी यहाँ कुल २० भारतीय सैनिकको मृत्यु भएको छ ।’ भारतीय सेना देशको अखण्डता एवम् सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारत र चीनको विवादित सीमाक्षेत्रमा बितेको ४५ वर्षयता पहिलोपटक यसरी यत्तिका सङ्ख्यामा सैनिकको ज्यान गएको भन्दै समाचार एजेन्सीहरूले महत्वका साथ समाचार सम्प्रेषण गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ जनाएको बताइएको छ । चिनियाँ पक्षले आफ्नोतर्फ कति क्षति पुग्यो भन्ने बारेमा केही बताएको छैन, तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि ठूलो मात्रामा हताहत भएको दाबी गरेको छ । अपुष्ट रूपमा एजेन्सीहरूले उल्लेख गरेअनुसार ४३ चिनियाँ सैनिकहरू सो झडपका क्रममा हताहत भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend