
धादिङ : साढे दुई महिनापछि सरकारले लकडाउन खुकुलो पारेसँगै व्यापारीहरुले पसल खोल्न थालेका छन् । तर, अत्यावश्यक सेवाका बाहेक अन्य पसलमा चहल पहल देखिँदैन । पसल खोले पनि व्यापार नहुँदा व्यापारी निराश बनेका छन् ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी लगायत पृथ्वी राजमार्ग अन्तर्गत विभिन्न बजारहरुमा हाल पसलहरू खुल्ला भए पनि व्यापार हुन सकेको छैन् । सामान बेचेर भ्याइनभ्याइ हुने व्यापारी अहिले को आउँला भन्दै कुरेर बस्नुपर्ने अवस्थामा पुगेका छन् । कोरोना कहरकाबीच जोखिम मोलेरै पसल खोले पनि ग्राहक नआएपछि व्यापारी निराश देखिन्छन् । एकातिर कोरोनाको डर छ, भने अर्कोतिर खर्च कसरी जुटाउने भन्ने चिन्ता ।
सरकारले लकडाउन खु्कुलो नपार्दै भोकले मर्ने स्थिति आउन लागेको भन्दै व्यापारीहरुले पसल खोल्न थालेका हुन् । व्यापक जनदवावपछि सरकारले गत असार १ गतेदेखि कोरोनाबाट अति प्रभावित बाहेक ७३ जिल्लामा लकडाउन खुकुलो बनाएको छ । तर, कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सर्वसाधारण अत्यावश्यक कामबाहेक बजार निस्केका छैनन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि झण्डै तीन महिनादेखि आर्थिक गतिविधि ठप्प छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र लागिपरेको छ । तर, कोरोनाको कहरबीच स्थिति सामान्य बन्न कति समयलाग्छ भन्ने जवाफ कोहीसँग पनि छैन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend