
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९ हजार नाघेको छ। बितेको २४ घण्टामा ४ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।
आइतबार (७ असार) को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमध्ये ६४ महिला र ३ सय ५७ जना पुरुष रहेका छन् ।
हालसम्मका कोरोना संक्रमित ९ हजार २६ मध्ये ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । बताइएअनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् ।
यस्तै, नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। यही असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएपछि मृतक संख्या २३ पुगेको डा. गौतमले जानकारी दिए । उनका अनुसार पारालाइसिसको उपचारका लागि भारत गइ जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend