
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधबार (१० असार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आआफ्ना मन्तव्य व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले समग्र परिस्थितिका बारेमा बैठकको शुरुमै आफ्नो धारणा राखेका थिए भने प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी एवम् समग्र परिस्थितिलाई केन्द्रबिन्दुमा राखेर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका बताइन्छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेका थिए । कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा दुवै अध्यक्षले जोड दिएका थिए ।
यस्तै, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको बताइएको छ भने विविधमा रुकुम (पश्चिम)मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको छ ।
बैठकमा प्रस्तावित कार्यसूचीहरु महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुले थप सुझावका रुपमा राखेका थिए । त्यसपछि बैठकका एजेण्डा थप गर्दै सातवटा पारिएको थियो । बुधबारदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आगामी शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend