
पोखरा : स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा. आचार्यका अनुसार आज (११ असार) शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुने बताइएको छ ।
गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ–३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान चार जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् । स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्युसँगै कोरोना भाइरसका कारण देशभरको मृत्यु संख्या २५ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend