
धादिङ : धादिङको सिद्धलेक गाउँपालिका कोरोनामुक्त भएको छ । गाउँपालिकाका सबै कोरोनासंक्रमित निको भएर घर फर्किएका छन् ।
सोमबार एक कोरोनासंक्रमित निको भएर घर फर्किएका छन् । गाउँपालिकाको वडा नं. १ स्थित नागेश्वरी आ.वि.को आइसोलेशन कक्षमा उपचार गराइरहेका सिद्धलेक–१ का एक पुरुषको पीसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले जानकारी दिनुभयो ।
भारतबाट आएका ती पुरुषको क्वारेन्टाइनमा रहँदा आरडिटी नेगेटिभ देखिएपछि घर पठाईएको र धादिङबेशीमा पुनः आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपश्चात पीसिआर गर्दा पनि पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो ।
उनको पुनः पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर पठाइएको स्वास्थ्य संयोजक सिलवालले बताउनुभयो । यस्तै, गाउँपालिकाले तयार पारेको क्वारेन्टिनमा हाल १० जना रहेका छन् भने कोरोनाको रिपोर्ट आउन कसैको बाँकी नरहेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।
आइसोलेसनमा डिस्चार्ज हुनेहरुलाई गाउँपालिका अध्यक्ष सिलवाल, उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल, स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले बिदाई गर्नुभएको थियो । सिद्धलेक गाउँपालिकामा तीन जना कोरोना संक्रमित भेटिएकोमा यसअघि वडा नं. २ का एक पुरुष र वडा नं ५ की एक महिला निको भएर घर फर्किसकेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend