कास्की, २३ असार । जहाँ दुःख हुन्छ, त्यहाँ जनताले जनप्रतिनिधि, समाजसेवी, सहयोगी हातहरुको खोजी गर्छन् । जुन पिडित वा दुःखी जनताको नजरमा जहिले पनि देवता सरह हुन्छ । पिडाको अध्यारो रातलाई केही मात्रामा भएपनि उज्यालो प्रकाश प्रदान गर्ने सहयोगी भावनाका मानिसको जहाँ आगमन हुन्छ, त्यहाँ पिडित वा दुःखी जनताको दुखेको घाउमा मलम लगाए जस्तै हुन्छ ।
त्यसै क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगतको वडा नं. १ नौडाँडामा पर्ने परियार बस्तीमा असार १४ गते आएको अविरल वर्षाले पहिरो जाँदा उक्त वस्तीको ६ घरलाई क्षति पुगेको थियो । उक्त क्षतिमा परेका ६ घरका ७ प्रभावित परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले बाढी पहिरो पिडितलाई राहत प्रदान गर्नुभएको छ । सांसद पहारीले उक्त परिवारलाई दैनिक जीवनमा अनिवार्य आवश्यक पर्ने चामल, नुन, तेल, दालसहितको खाद्यान्न सहयोग गर्नुभएको छ ।
सांसद पहारीले उक्त प्रभावित क्षेत्रमा प्राविधिक सहित राहत वितरणको साथमा अनुमगन समेत गर्नुभयो । पहिरोबाट क्षती भएकोलाई के गर्न सकिन्छ ? वस्ती संरक्षणको निम्ती के गर्न सकिन्छ ? भनि त्यसको वस्तुस्थितीको जानकारी लिनको लागि प्रविधिक सहित अनुगमन गर्नुभयो । वडा प्रतिनिधि तथा स्थानीयहरु सहितको राहत वितरण तथा बाढी पहिरो गएको स्थानको अनुगमनका क्रममा सांसद पहारीले पिडित परिवार तथा वस्ती संरक्षणको निम्ती जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
राहत वितरण गर्दै सांसद पहारीले जनताको दुःख पिडामा सधै साथमै रहेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालको भौगोलिक बनावट फरक भएकाले वर्षाको समयमा अलि बढि सजग र सचेत भएर बस्नुस् । कुनै अप्ठेरो पर्यो भने भन्नुहोस् म सधै तपाईको साथमा छु ।’
जहाँ समस्या त्यहाँ सांसद पहारीको उपस्थिती रहेको देखिन्छ । आफु निर्वाचित भएपश्चात नै आफु शासक नभई जनताको सेवक भएको घोषणा गर्नुभएका सांसद पहारीले जनताको पर मर्कालाई आफ्नै सम्झेर अघि बढ्दै उहाँको दैनिकीहरु वितिरहेका छन् । समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नु वर्तमान समयको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै सांसद पहारीले राजनीतिक खिचातानीमा नलागि दृढताका साथ जनताबाट प्राप्त अभिमतलाई स्वीकार गर्दै जनताको विकास प्रतिको चाहना पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय राजनीतिक रुपमा भएका घटनाहरु बेमौसमी बाजा बजाउने भन्दा पनि सांसद पहारीको कार्यबाट सम्पूर्ण जनप्रतिधिले सिक्न जरुरी रहेको छ । लामो समयदेखीको जनताको तिव्र विकास प्रतिको चाहनामा लागेको बादललाई हटाउँदै विकासको उज्यालो प्रकाश छर्नु नै लोकतान्त्रीक गणतन्त्रको आवश्यकता हो । जसको लागि निर्वाचित जनप्रतिनिधिको साथमा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको हुन्छ । जसको उदाहरणीय पात्रको रुपमा सांसद पहारीलाई लिन सकिन्छ । सांसद पहारी जस्तै विकास र समृद्धिको लागि जनताको चाहना अनुसार न दिन न रात केही नभनि दैनिक करिव १८ घण्टा खट्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन सहज हुने निश्चित रहेको छ ।
राष्ट, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकतालाई आफ्नो प्राण भन्दा प्यारो रहेको उल्लेख गर्दै सांसद पहारीले छिमेकी देश भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहारिक कार्य गरेको बताउनुभयो । गुमेको भूमि फिर्ता ल्याउन सिंगो मुलुक नै एक ढिक्का भएको समयमा नेकपाभित्रको आन्तरिक विवादलाई समाधान गरी सरकारलाई गुमेको भुमि फिर्ता ल्याउने मात्र नभई विकास र समृद्धिको यात्रामा सारथीको रुपमा नेकपा हुनुपर्नेमा समेत जोड दिनुभयो ।
राहत वितरणमा पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर महेन्द्र गोदार, अन्नपूर्ण गाउपालिका १ का नेकपा वडा कमिटी अध्यक्ष सूर्य परियारलगाएतको उपस्थिति रहेको थियो । अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाकै मुख्यबाटो छेउमा रहेको पानीको कल्वर्टले वस्तीलाई असर परेकाले सांसद पहारीले त्यस स्थानमा अनुगमन गर्दै छिटो भन्दा छिटो समाधान गर्न निर्देशन समेत दिनुभयो ।