
धादिङ : नदीको किनारामा पौडी खेल्ने क्रममा बगाएर त्रिशुली नदीको बीच भागमा अड्किएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरिएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित मलेखु बजारनजिकै त्रिशुली किनारमा पौडी खेलिरहेका तीन जनालाई त्रिशुली नदीले बगाएको थियो। दुई जना पौडेरै बाहिर निस्किन सफल भए पनि कैलाली जोशीपुरका कमलराज जोशी भने त्रिशुली नदीको बीचको भङ्गालोमा ढुंगामा अड्किएका थिए। सँगै नुहाउन गएका एक जना नदीको बीच भागमा फसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए।
लगत्तै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टटारबाट एसएसपी कालिदास धौवजीको कमान्डमा आएको उद्धार टोलीले नदीको बीचमा अड्किएका जोशीलाई सकुशल उद्धार गरेको हो। जोशी करिव २ घण्टा नदीको बीच भागमै अड्किएका थिए । सशस्त्र भन्दाअगाडि उद्धारका लागि सेना खटिएको भएपनि सफल नभएपछि कुरिन्टारबाट जलउद्धारकर्मी बोलाइएको थियो।
वर्षाका कारण नदीमा पानीको बहाव पनि निकै कडा रहेको अवस्थामा नदीको भङ्गालोको बीचमा अड्किएका ब्यक्तिलाइ निकै जोखिमपूर्ण तरिकाले उद्धार गरिएको एसएसपी धौवजीले जानकारी दिए । उनले भने, ‘यस्तो घटनामा जीवितै उद्धार विरलै हुने गरेको छ, १० मिनेट मात्रै ढिला भएको भए पनि ती व्यक्तिलाई नदीले बगाउने सम्भावना थियो । सबैको प्रयासमा उद्धार गर्न सफल भइयो।’
सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको नेतृत्वमा दुई जना गोताखोरहरू ओमबहादुर सलामी र डिल्ली भट्टराई तथा सइ वीरेन्द्र बहादुर बम र असइ पहलमान वली र्याफ्टिङ बोट लिएर उद्धारका लागि नदीमा पसेका थिए। जोशी पृथ्वी राजमार्गमा अप्टिकल फाइवर विछ्याउने काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।
नदीबाट उद्धार गरिएपछि उनलाई चेकजाँचका लागि राजमार्ग सामुदायिक अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend