
नेपालमा बिहीबार (८ साउन) १४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङको क्रममा अब नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएका जानकारी दिँँदै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको र देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको बताए ।
यसैबीच विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एकजना प्रहरीमा संक्रमण देखिएको थियो । आज बिहीबार (८ साउन) थप चारजना प्रहरीमा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
बताइएअनुसार सक्रमित चारैजना पुरुष हुन् । उनीहरुलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको छ । प्रहरी कर्मचारीलाई संक्रमण देखिएसँगै संक्रमित प्रहरीको सम्पर्कमा रहेका र कोभिड–१९ को लक्षणदेखिएका मध्ये १ सय ५० जना प्रहरीको स्वाब संकलन गर्ने काम अहिले भइरहेको छ ।
प्रहरीमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि प्रदेश प्रहरी कार्यालय बुधबारदेखि नै सिल गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend