
११ साउन,काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएका हुन्।
‘प्रयोगशालाहरूको पिसिआर क्षमता सम्बन्धी रेकर्ड लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने देखिएको छ। निकट भविष्यमा हामी दैनिक १८ हजार एक सय ६० जनाको परीक्षण गर्नसक्छौं,’ उनले भने।
उनले अहिले सरकारी प्रयोगशालाको प्रति दिन क्षमता ६ हजार ३ सय ६० र निजीको ३ हजार रहेको बताए। साथै ११ वटा आरएनए छुट्याउने मेसिन जडान गरेर थप ८ हजार ८ सयको परीक्षण गर्न सकिने प्रवक्ता गौतमले जनाए।
केही समयअघि मात्र मन्त्रालयले सात वटा आरएनए छुट्याउने मेसिन खरिद गरेको छ। स्वास्थ्य सेवा विभागले गुणस्तर जाँच गरेर प्रत्येक प्रदेशमा मेसिन पठाइने जनाएको छ।
यसअघि पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको परीक्षण गर्न जनाएका थिए।
यद्यपी अहिलेसम्म दैनिक साे संख्यामा परीक्षण हुन सकेको छैन। तर मन्त्रालयले भने आवश्यक परेको खण्डमा दैनिक १० हजार बढीको परीक्षण गर्न सकिने जनाएको छ।
मन्त्रालयले क्वारेन्टिनमा बस्ने व्यक्तिहरूको संख्या घटेकोले परीक्षण संख्या पनि घटेको बताएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend