बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

नेकपा बिबाद : के होला अन्तिम परिणाम ?

नेकपा बिबाद : के होला अन्तिम परिणाम ?

काठमाडौँ — झन्डै एक महिनादेखि आ–आफ्नो अडानमा बसेका नेकपाका दुवै पक्ष राजीनिक हिसावले एक–एक कदम अगाडि बढेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेर र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थगित भनिएको बैठक सूचारु गरेर आ–आफ्ना कदम चालेका हुन् ।
 
दुवै पक्षका रणनीतिक कदमले नेकपा विवाद नयाँ चरणमा त पुगेकै छ, र अव दुवै पक्षले चाल्ने अर्को कदमलाई लिएर पार्टीभित्र र बाहिर चौतर्फी चासो बढेको छ । पार्टी एकताको झण्डै दुई वर्षपछि दुवै अध्यक्षको सहमतिबिना स्थायी कमिटी बैठक स्थगितको सूचना प्रवाह र एकतर्फी रुपमा बैठक सञ्चालन भएको यो पहिलो घटना हो ।
 
मंगलबारको बालुवाटारको बैठकलाई नेकपाभित्र असामान्य र अस्वाभाविक परिघटनाका रुपमा हेरिएको छ । मंगलबारका विकसित घटनाक्रममाथि दुवै पक्षका नेताहरुका क्रिया–प्रतिक्रिया पनि आएका छन् । बैठकमा सचिवालयका पाँच नेता सहभागी थिए ।
 
प्रधानमन्त्रीले प्रेस सल्लाहकार सूर्य थापामार्फत बैठक स्थगित भएको सूचना सार्वजनिक गरेर आफ्नो तर्फको कदम चालेका थिए । लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको खण्डन गर्दै बैठक बस्ने बताएका थिए । दुवैपक्षबाट आएका बैठकसम्बन्धी सूचनाले दुई समूहबीचको आशंका र टकरावको संकेत गरेको थियो । त्यतिबेलासम्म बैठकका लागि भन्दै धेरैजसो नेता बालुवाटारमा पुगिसकेका थिए ।
 
 
दुवै पदबाट ओलीको राजीनामा मागेको दाहाल–नेपाल समूह र दुवै पद नछाड्ने ओलीको अडानबीच एक–एक कदम अगाडि बढेसँगै दुवै पक्ष थप नयाँ रणनीति निर्माणमा पनि जुटेका छन् । यद्यपि दुवैपक्षभित्र दुई अध्यक्षको संवादलाई निरन्तरता दिनुपर्ने मत छ । नेपाल–दाहाल समूह एकचरण प्रधानमन्त्री ओलीसँग संवाद गरेर पुन: बैठक बसाल्ने योजनामा छ । तर, ओली समूह ठोस सहमतिबिना बैठकको पक्षमा छैन् ।
 
दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सहमतिका लागि अधिकतम् प्रयास गर्ने र सहमतिमा नआए अर्को बैठक बस्नेर निर्णय गर्ने बताए ।
 
‘पार्टी फुटाउँदा सबैभन्दा धेरै केपी ओलीले गुमाउनु हुन्छ । अहिले पाइरहनु भएको छ नि सत्ताको स्वर्ग, त्यो त सबै गुम्छ । फुटको हतियार देखाएर सत्ता टिकाउने खेल हो । अर्कोतर्फ लडाइँ कमजोर पार्न उहाँले त्यसो गर्नु भएको हो,’ उनले भने, ‘बैठक जारी छ । बैठकबाहेक अर्को कुनै विकल्प छैन । अझै सहमतिका लागि अन्तिम प्रयत्न गर्ने हो । तर, केपी ओलीले कुनै हालतमा मान्दै मान्नु भएन भने स्वत: बैठक बस्छ । ठिलोचाँडो औपचारिक निर्णय गर्छ ।’
 
उता ओली निकट एक नेताले दाहाल–नेपाल समूहको रणनीतिमाथि आफुहरुको ‘काउन्टर’ रणनीतिबारे भने, ‘आजको घटनालाई कुनै नौलो रुपमा लिएका छैनौं । विगतमा धेरै भएका छन् । कुनै एक अध्यक्षलाई अधिकार बढी हैन, दुवै अध्यक्षको अधिकार बराबरी छ । कुनै अध्यक्षले आफूलाई सुप्रिम ठान्छ भने बेग्लै कुरा । बैठक बहिष्कार गरेका हैनौं । पार्टी फुट्नैन । यो ढुक्क छ । दुई अध्यक्ष मिल्नु पर्छ । हाम्रो कोसिस त्यसमैमा हुन्छ ।’
 
मंगलबार ११ बजेका लागि तय बैठक ओलीले एकततर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष दाहालले बहुमत सदस्यको बैठक राखेका थिए । बैठकमा २९ स्थायी कमिटी र २ आमन्त्रित सदस्य सहभागी थिए । ठीक त्यहीबेला बालुवाटार पुगेका ओली समूहका नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका थिए ।
 
बैठक सुरु गर्नुअघि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेटेका थिए । दाहालले बैठक नरोक्न र निर्धारित एजेन्डामा नयाँ ढंगबाट छलफल गर्न प्रस्ताव गरेका थिए । तर, ओलीले नमानेपछि दाहालले बैठकको सञ्चालन गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीसँग भेटका लागि खनालसँगै नेपाललाई पनि प्रस्ताव गरेका थिए । तर, नेपालले प्रधानमन्त्री ओलीलाई भेट्न अस्वीकार गरेका थिए ।
 
दाहालले चलाएको बैठकले ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकताको रक्षा गर्न र पार्टीलाई विधि, पद्धतिसम्मत रुपमा अगाडि बढाउनका निम्ति सकारात्मक भूमिका खेल्न नेताहरुलाई आग्रह गरेको छ । तर, ओली समूहले बैठकलाई मान्यता दिएको छैन ।
 
प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले दाहाल–नेपाल समूहको बैठक चलिरहँदा भनेका थिए, ‘उहाँहरुले छलफल गर्नु भएको होला, छलफल त गर्न पाइयो । बिहान पनि उहाँहरुले खुमलटारमा छलफल गर्नु भएको थियो, अहिले बालुवाटारमा थाल्नु भयो होला । पार्टीको बैठक होइन, पार्टीको बैठक महासचिवले बिहानै स्थगित गर्नु भएको हो ।’
 
बालुवाटारको दाहाल–नेपाल समूहको बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
 
पटक–पटक स्थगित हुँदै आएको बैठक दुई अध्यक्षको सहमतिमा मंलगलबारलाई तय भएको थियो । तर, प्रधानमन्त्री ओलीले अर्का दाहालसँग समेत परामर्श नगरी एकतर्फीरुपमा बैठक स्थगित भएको सूचना जारी गरेपछि दाहाल र नेपाल समूहका नेताहरु बालुवाटार पुगेका थिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend