
धादिङ : नेपालमा लकडाउन हटे पनि होटल व्यवसाय लयमा फर्किन सकेका छैनन् । ग्राहक नआउँदा पृथ्वी राजमार्ग अन्तर्गत मलेखु, मुग्लिङ, धार्के, नौबिसे लगायतका होटेल व्यापारी उदास मुद्रामा भेटिन्छन् ।
कोरोना संक्रमणको त्राससँगै लागेको लकडाउन हटेसँगै अधिकांश बजार खुलेका छन् । संक्रमणको त्रासबीच बजार खुले पनि व्यापार नहुँदा होटेल व्यापारी निराश छन् । कुनैवेला भ्याइनभ्याइ हुने मलेखु बजारका व्यापारी ग्राहकको प्रतीक्षा गरेर बसेको अवस्थामा भेटिन्छन् ।
बजारमा मानिसको चहलपहल बढे पनि व्यापार नभएको व्यवसायीको भनाइ छ । उनीहरू पहिलेको तुलनामा एक तिहाइ वा त्यो भन्दा पनि कम व्यापार भएको गुनासो गर्छन् । कोरोनाको कहरबीच सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको जोहो गर्नै कठिन भएको छ । कतिले रोजगारी गुमाएका छन् भने कतिको व्यापारव्यवसाय चौपट भएको छ । दैनिक जीवनयापनमै समस्या हुने अवस्था आएकाले अन्य सामग्री खरिदमा रुचि नभएको उनीहरूको भनाइ छ ।
कोरोना संक्रमणको त्राससँगै लागेको लकडाउनका कारण धेरै मानिसको आयस्रोत घटेको छ । उनीहरूलाई दैनिक उपभोग्य सामग्रीको जोहो गर्न नै कठिन परको अवस्था छ । अर्कातिर संक्रमणको डर पनि त्यतिकै छ । त्यसैले पनि बजारमा उल्लेख्य रूपमा व्यापार हुन नसकेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend