सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

कैलालीमा बाढी बस्तीमा पस्दा ४ जना बेपत्ता, दर्जनौ घर डुबानमा

कैलालीमा बाढी बस्तीमा पस्दा ४ जना बेपत्ता, दर्जनौ घर डुबानमा

कैलाली : अविरल वर्षाका कारण कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् ।

जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएका प्रहरीले जनाएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका हुन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए। बाढीले बगाउँदै गरेको अवस्थामा दुई जनाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर सात सय बढी परिवार प्रभावित भएको जनाएको छ । प्रभावित परिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

‘बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरिएको बताउनु भयो । यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा एक हजार आठ सय विस्थापित भएका छन्। उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखिएको छ ।

जिल्लाको कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि भजनी, टीकापुर, लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend