
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोना भाइरसका कारणले पुस्तकलाई औपचारिकरूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए । उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तरक्रिया गरिने जानकारी दिए ।
संसदीय राजनीतिलाई सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेल्नुभएको भूमिका पुस्तकमा समेटिएको उनले बताए ।
दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको घटना तथा सो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउन भोगिएका परिघटना र सङ्घर्ष पुस्तकमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend