
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ रहेको छ। शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन्।
कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ।
प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। मन्त्रालयले साउन १० देखि १३ गतेसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट स्वाब संकलन गरेको छ। तीन दिनमा १० हजार आठ सय २७ नमुना संकलन गरेर परीक्षणका लागि विभिन्न प्रयोगशालामा पठाइएको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend