
दाङ : नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्काले गृहजिल्ला दाङको देउखुरीमा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।
कांग्रेसका युवा नेता खड्काले जनताको कोरोना महामारीका बेला जोखिम मोलेर जनताको सेवामा खटिएका देउखुरीका सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले तापक्रम नाप्ने थर्मल गन, सेनिटाइजर, पीपीई सेट, सर्जिकल मास्क, एन–९५ मास्क, साबुन, फेससेभर लगायतका सामग्री वितरण गरेको जनाएका छन् ।
खड्काले नेपाल–भारत सीमा कोइलाबास क्षेत्रमा बस्दै आएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई स्वास्थ्य सामग्री दिएको बताएका छन् । उनले भालुबाङमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि स्वास्थ्य सामग्री वितरण गरेका छन् । ‘कोरोना भाइरसको संक्रमणबाट बचाउन सुरक्षाकर्मीहरूले ठूलो भूमिका खेल्नुभएको छ’, कांग्रेसका युवा नेता खड्काले भने, ‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई सुरक्षित बनायौँ भने जनता सुरक्षित हुन सक्छन् । सोही कारण पहिला सुरक्षाकर्मीलाई र त्यसपछि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यका सामग्रीहरू वितरण गरिनेछ ।’
युवा नेता खड्काले काठमाडौंबाट करीव १५ लाख बराबरको स्वास्थ्य सामग्री लिएर देउखुरी आएका हुन् । युवा नेता खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, कांग्रेस नेता जानकीलाल बस्नेत, अनुराग यादब, कर्णबहादुर बुढाथोकी लगायतलाई सँगै राखेर स्वास्थ्य सामग्रीहरू वितरण गरेको जनाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend