
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबार देशभरी ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend