
धादिङ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट स्थानीय समुदायमा संक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले एक साताका लागि जिल्ला सदरमुकाम धादिङवेशीमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी भाद्र ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्रहरु तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ ।
पछिल्लो दुई साताअघिदेखि धादिङवेशी आसपासका स्थानीयलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । होटल व्यवसायी, सवारी चालक, रेडक्रसमा काम गर्ने स्थानीय व्यक्ति, जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी अधिकृत पनि संक्रमित भएपछि समुदायमा फैलिन सक्ने जोखिमका कारण एक साताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
साथै जिल्ला भित्रका सबै एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रमा रहेका सबैखाले होटल वित्तीय संस्था, यातायात सेवा र करदाता सेवा कार्यालय बन्द गराउने संकट व्यवस्थापन समितिले निर्णय गरेको छ ।
संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गराउनका लागि स्वास्थ्य कार्यालयलाई जिम्मा दिने र त्यसको लागि आवश्यक पर्ने भिटिएम व्यवस्थापनका लागि प्रदेश सरकार र संघीय सरकारसँग सहयोग माग्ने निर्णय समेत गरिएको छ । साथै स्थानीय तहमा गठन भएका कन्ट्रयाक्ट ट्रेसिङ समितिलाई सक्रिय बनाउन स्थानीय तहलाई निर्देशन पनि दिइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend