
चितवन – चितवनका सामुदायिक विद्यालयमा अध्यापन गराउदै आएका निजी स्रोतका शिक्षकहरुले समयमा नै तलब भुक्तानी गर्न माग गरेका छन् । चितवन सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समितिले आज (शनिबार) ५ बुँदे विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । सरकारले सम्पूर्ण कर्माचारीहरुको तलब भत्ता नकाट्ने निर्णय गरेता पनि चितवनका सामुदायिक विद्यालयहरुले उक्त निर्णय पालना नगरेको उनिहरुको गुनासो छ ।
अहिलेको बिषम परिस्थितीमा निजी स्रोतका शिक्षकहरुलाई पनि समान व्यवहार गर्दै समयमा नै तलब भुक्तानी गर्न समितिले जारी विज्ञप्ती मार्फत माग गरेको छ । ‘सबै सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकहरुको जीवन रक्षा, जागिरको सुरक्षा जस्ता अधिकारको सुनिश्चितता गरी अन्य शिक्षक सरह हरेक शैक्षिक क्रियाकलापमा सरिक गराई निजी स्रोतका शिक्षकहरुलाई सम्मानपूर्ण व्यवहार गरी तलब भुक्तानी समयमा नै दिनु पर्नेछ’ – जारी विज्ञप्तीमा भनिएको छ ।
समितिले यस्तो जटिल परिस्थितीमा निजी स्रोतका शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने, जागिरबाट निष्कासन गर्ने, प्रतिशतमा तलब खुवाउने र ४ महिना बितिसक्दा पनि कुनै चासो नदिने प्रवृति तत्काल रोक्न पनि माग गरेको छ । सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकहरुलाई पूर्ण रुपमा व्यवस्ता गरेको र अपहेलना गरेको समितिको ठहर छ । कोरोनाको बहाना बनाई विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले निजी स्रोतका शिक्षकहरुलाई अपहेलना गरेको भन्दै समितिले खेद प्रकट गरेको छ ।
सामुदायिक विद्यालय भित्र शैक्षिक योग्यता र तह उच्च भएपनी शिक्षकहरुले पाउने तलब लगायतका सेवा सुविधामा असमानता भएको भन्दै त्यसको अन्यको माग पनि गरिएको छ । भोको पेटले संयमता अपनाउन सक्दैन र नाङ्गो शरीरलाई लाज हुँदैन भन्दै समितिले आफ्ना मागहरु पुरा नभए चरणबद्द आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । ‘माग पुरा नभएको खण्डमा चरणबद्द ढङ्गले आफ्नो हक अधिकार र शोषणबिरुद्दको यो लडाईमा समिति अन्य कदम चाल्न वाध्य हुनेछ’ – विज्ञप्तीमा भनिएको छ ।’ समितिले सामुदायिक विद्यालयहरुलाई आफ्नो जिम्मेवारीबाट नभाग्न पनि अपिल गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend