
असोज १ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिएका छन्।२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्।
राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।
सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने ।नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend