
असोज ६ काठमाडौं- शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक बितरण रोकिएको बताएका छन्।
मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिएको बताए।
यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। यस बिषयमा चाडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने जानकारी मन्त्री पोख्रेलले दिए।
मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।
गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभाग सहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणा अनुसारै ५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरा सहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गरेको थियो।
जसअनुसार लिम्पियाधुरा क्षेत्रसहित नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर हुने भए पनि प्रधानमन्त्री ओलीको निर्देशनमा नयाँ नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक बितरण रोकिएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend