मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सरकारी तवरबाट नेपाली केयर गिभर इजरायल जान पाउने, असोज १४ मा सम्झौता

सरकारी तवरबाट नेपाली केयर गिभर इजरायल जान पाउने, असोज १४ मा सम्झौता

असोज ८ काठमाडौं – नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र(अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र)मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिनुभयो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको थियो ।

दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् । विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको छ ।

इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गर्नुभएको थियो । भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव घिमिरे, इजरायलको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

यसैबीच नेपाली दूतावासले इजरायलमा जान चाहनेले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने मनशायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकामा ध्यानाकर्षण भएको जनाएको छ । यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने दूतावासले जनाएको छ । केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ । यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ ।

त्यस्तै यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाले कुनै हल्लाको पछाडि नलाग्न दूतावासले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend