काठमाडौं । ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालका सञ्चालकबीचको विवाद चुलिएको छ । अस्पतालका सञ्चालक तिलकबहादुर पुवार थापा र क्याप्टेन रामेश्वर थापाबीच विवाद बढ्दै चुलिएको हो । अस्पतालमा ५१ प्रतिशत स्वामित्व तिलक थापा र ४९ प्रतिशत सेयर क्याप्टेन थापाको छ ।
अस्पतालले आर्थिक वर्ष ०७९/८० को वार्षिक साधारणसभा चार पटक बोलाउँदा पनि लगानीकर्ता एसएसजी इन्भेष्टमेन्टका रामेश्वर थापा उपस्थित नभएको अस्पतालले जनाएको छ । यही असोज १५ गते बोलाइएको साधारणसभामा पनि सेयरधनी एसएसजीको तर्फबाट साधारणसभामा उपस्थिती नभएपछि कोरम नपुग्दा स्थगित भएको अल्काले जनाएको छ ।
अस्पतालले पाँचौ पटक साधारणसभा बोलाएको छ । अस्पतालले आउँदो कात्तिक ४ गते दिउँसो साधारणसभा बोलाएको हो । साधारणसभा बस्न नसक्दा वित्तीय प्रतिवेदन पारित हुन सकेको छैन् ।
मिडिया उद्यमी, वायुसेवा सञ्चालकसमेत रहेका क्याप्टेन थापाले एसएसजी इन्भेष्टमेन्टको नाममा अल्का अस्पतालको ४९ प्रतिशत शेयर लिएका थिए ।
यसअघि भदौ ९ गते अस्पतालले ३५ दिने सूचना जारी गरी साधारणसभामा भाग लिन बोलाएको थियो ।
पछिल्लो पटक गत ५ भदौमा बोलाइएको साधारणसभा बैठक कोरम नपुगेर स्थगित भएपछि बैठकले रामेश्वर थापाको नाममा ३५ दिने सूचना जारी गर्ने निर्णय गरेको थियो ।
तिलक थापा अस्पतालको अध्यक्ष र उनकी श्रीमती विद्या श्रेष्ठ थापा सञ्चालक रहेका छन् । अध्यक्षसहित तीन जनाको सञ्चालक समितिमा तिलक, विद्या श्रेष्ठ र रामेश्वर थापा रहेका छन् ।
१०० शैययाको अल्का अस्पतालमा २०७६ साउनमा क्याप्टेन थापाले स्वामित्व खरिद गरेका थिए । अल्काले एक दशकभन्दा बढी समयदेखि नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ ।
७८ करोड आम्दानी
अल्का अस्पतालको गत वर्ष २०२३ मा व्यापार ४ प्रतिशत घटेको छ । गत वर्ष अल्काले ७८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । २०२२ मा अल्काले ८१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । नर्सिङ कलेजले कम्पनीसँग मिलेर सदस्यता कार्डमा छुट ल्याएपछि अस्पतालको सञ्चालन आम्दानी घटेको अल्काले जनाएको छ । कूल आम्दानीमा ९४ प्रतिशत हिस्सा अस्पताल सञ्चालन र बाँकी ६ प्रतिशत नर्सिङ कलेज र फारमेसीबाट भएको छ ।
२०२१ मा अस्पतालले ६४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । नर्सिङ कलेजबाट हुने आम्दानी १ करोड ५० लाख रुपैयाँ घटेको छ । २०२४ को १० महिनामा अल्काको सञ्चालन आम्दानी ६३ करोड १० लाख रुपैयाँ पुगेको छ ।
अल्काको ऋण ६९ करोड ८३ लाख रुपैयाँ छ । जग्गा खरिदमा थप ऋण लिएपछि दायित्व बढेको अस्पतालले जनाएको छ । जग्गा किन्दा १० करोड ७० लाख रुपैयाँ ऋण दायित्व बढेको छ । अस्पताल ललितपुरको जवलाखेल र कलेज धोविघाटमा छ ।
अल्का अस्पताल सन् २००६ मा स्थापना भएको हो । सन् १९९५ मा अल्का फार्मेसी बाट सुरु भएको हो । २००२ मा अल्का पोलिक्लिनिक स्थापना भएको थियो । अस्पतालले अल्का इन्टिच्युट एन्ड मेडिकल साइन्स सञ्चालन गरिरहेको छ ।