
असोज २३ काठमाडौं – नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेकी छिन। देशमा बलात्कारका घटना बढिरहेकोमा दुख व्यक्त गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन्।
पत्रमा उनले लेखेकी छिन, ‘एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ।’
‘मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। छोरीका लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्ने डर लाग्न थालेको छ मलाई । छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।’ पत्रमा उनले लेखेकी छिन।
दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा आफैंलाई लाज लाग्न थालेको उनी बताउँछिन्। ‘जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ। त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्निपरीक्षा दिएको युगमै छौं झैं लाग्छ।’
प्रविधिका हिसाबले विकसित भए पनि सोचले अझै पिछडिरहेको उनको भनाइ छ। उनको आक्रोश छ, ‘यहाँ बालिकाहरुलाई खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस् के यो देशमा उनीहरु सुरक्षित छन्? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन्।’ ,पत्रमा भनिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend