
कात्तिक २ काठमाडौं – अबदेखि सवै सरकारी अस्पतालले कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने भएका छन्। स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन्।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा गौतमले सो जानकारी दिएका हुन्।
आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै अबदेखि सबै सरकारी अस्पताल निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले आफ्नो अस्पतालमा भएको कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन सरकारले निर्देशन दिएको छ। मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि आजकै मिति देखि छुट्याउन भनेको हो। यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुनेछ।
यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो। मन्त्रालयले उक्त निर्णय परिवर्तन गर्दै ५० प्रतिशत पुर्याएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend