
कार्तिक ३ काठमाडौँ, संसदीय सुनुवाई समितिमा अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी परेका छन् । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो ।
१० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको र छलफल गरेर थप स्पष्ट हुने उहाले बताउनुभयो ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन् ।राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका हुन् । उनीविरुद्ध परेको उजुरीबारे स्रोतले भन्यो, ‘ उहाँविरुद्ध क्यापिटल मर्चेन्ट बैंकसँग जोडेर पनि उजुरी परेको छ । पीएमार्फत् घोटाला गरेको विषय पनि छ । त्यस्तै, पटकपटक पदमा जाने अवसर पाउँदा अधिकार दुरुपयोग गरेको, अवसरभन्दा न्यून रूपमा कार्यसम्पादन भएको र नीतिगत भ्रष्टाचार गरेको आरोपसहितका उजुरी आएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend